`

खाद्य कम्पनीको सीईओ नियुक्तिमा राजनीतिक चलखेलको आरोप

Nepal One HD ३० असोज २०८३ १२:०१
राजनीति

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया योग्यता र क्षमताभन्दा राजनीतिक पहुँच तथा स्वार्थबाट प्रभावित भएको आरोप लागेको छ।

कम्पनीका पूर्वसीईओ तथा पुनः सोही पदका प्रतिस्पर्धी रमेश आचार्यले नियोजित रूपमा आफ्नो नाम सिफारिस सूचीबाट हटाइएको दाबी गरेका छन्। अघिल्लो कार्यकालमा कम्पनी सुधारका लागि काम गरेको र सरकारी स्वामित्वको संस्थालाई थप व्यवस्थित बनाउने स्पष्ट योजना हुँदाहुँदै आफूलाई सिफारिसबाट बाहिर राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले सीईओ पदका लागि तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौँका होमनाथ न्यौपानेको नाम सिफारिस गरेको छ। अब मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई सीईओ नियुक्त गर्नेछ। शुक्रबार मध्याह्न १२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकबाट नियुक्तिबारे निर्णय हुन सक्ने बताइएको छ।

कम्पनीको सीईओ पद गत वैशाखको तेस्रो सातादेखि रिक्त छ। सरकारले ल्याएको अध्यादेशका कारण तत्कालीन सीईओ आचार्य पदमुक्त भएका थिए। पुनः नियुक्तिका लागि आवेदन दिएका आचार्यले पनि असोज १७ र १८ गते भएको अन्तर्वार्तामा सहभागिता जनाएका थिए। समितिले १६ जना उम्मेदवारको अन्तर्वार्ता लिएको थियो।

स्रोतका अनुसार प्रारम्भिक मूल्याङ्कनमा आचार्यको नाम पहिलो नम्बरमा सिफारिस भएर प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो। मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायतको तहमा सोहीअनुसार प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भएको भए पनि मन्त्रालयमा फाइल फर्किएपछि सिफारिस सूची परिवर्तन गरिएको आरोप लागेको छ।

मन्त्रालयले अन्तिम सिफारिस सूची सार्वजनिक गर्दा आचार्यको नाम हटाएर संगीता यादवको नाम समावेश गरेको बताइएको छ। विभागीय मन्त्री दीपककुमार साहको स्वार्थ र निकटताका आधारमा नाम परिवर्तन गरिएको आरोपसमेत लागेको छ। यद्यपि, यी आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सीईओका लागि सिफारिस भएका डिल्लीराज लम्सालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ३६ वर्ष काम गरेका छन्। उनले निमित्त सीईओको जिम्मेवारीसमेत सम्हालेका थिए। गत भदौ १० गते उमेर हदका कारण अवकाश पाएका लम्साल पुनः सीईओ पदको प्रतिस्पर्धामा सहभागी भएका हुन्।

त्यस्तै, होमनाथ न्यौपानले विगतमा नेबिको कम्पनीको नेतृत्व सम्हालेका थिए। उक्त संस्थाको आर्थिक अवस्था कमजोर भएपछि उनले जागिर छाडेको विवरणमा उल्लेख छ।

संगीता यादव जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडसँग आबद्ध छिन्।

नियुक्ति प्रक्रियामा चलखेल भएको आरोपबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले प्रतिक्रिया दिन चाहेका छैनन्।

यसैबीच, मुख्यसचिव गोविन्दबहादुर कार्कीले तीन जनाको नाम प्राप्त भएको पुष्टि गर्दै मन्त्रिपरिषद्ले ती नाममाथि छलफल गरेर निर्णय लिने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *