वित्तीय र साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाउँदै प्रहरी
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन्। यस्ता अपराधबाट पीडित नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्न प्रहरीसहित वित्तीय तथा डिजिटल सेवा प्रदायक निकायलाई एउटै प्लेटफर्ममा आबद्ध गर्ने तयारी भइरहेको उनको भनाइ छ।
७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै कार्कीले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूबीच समन्वय बढाएर वित्तीय तथा साइबर अपराध नियन्त्रणको प्रयास अघि बढाइने जानकारी दिए।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा उनले हालैका भोटेकोशी र त्रिशूलीलगायत विभिन्न विपद्का घटनामा राष्ट्रसेवाका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे। कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रहरी संगठन निर्माणमा योगदान पुर्याउने पूर्व तथा बहालवाला प्रहरीप्रति आभार व्यक्त गरे।
कार्कीले आगामी दिनमा आइपर्न सक्ने विपद्को सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकास आवश्यक रहेको बताए। यसका लागि सरकारले पनि प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ।
कार्यक्रममा उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारीसमेत दिए। यसबाट प्रहरी स्वास्थ्य सेवाको क्षमता र संस्थागत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसै अवसरमा विमोचन गरिएको ‘पुलिस मिरर’ ले नेपाल प्रहरीको इतिहास, वर्तमान र संगठनका गतिविधिलाई नयाँ पुस्तासँग जोड्ने विश्वास पनि कार्कीले व्यक्त गरे।
प्रविधिको तीव्र विकाससँगै वित्तीय ठगी, अनलाइन अपराध तथा डिजिटल माध्यमबाट हुने दुरुपयोगका चुनौती बढिरहेका बेला प्रहरीको अनुसन्धान क्षमता, प्राविधिक दक्षता र सम्बन्धित निकायबीचको सहकार्यलाई बलियो बनाउने विषयलाई उनले विशेष प्राथमिकतामा राखेका छन्।
