`

प्रहरीलाई आधुनिक बनाउन कानुन सुधार गरिने

Nepal One HD ३० असोज २०८३ १२:४५
समाचार

काठमाडौं । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भए।

कार्यक्रममा गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधारको तयारी भइरहेको बताए। प्रहरी कर्मचारीका लागि आवास, स्वास्थ्यलगायतका सेवासुविधा थप्नुका साथै सरुवा-बढुवालाई व्यवस्थित गरिने उनको भनाइ थियो। प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने कामसमेत अघि बढाइएको उनले जानकारी दिए।

अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान बढाउँदै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने योजना रहेको गुरुङले बताए। अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानका लागि नेपाल प्रहरीलाई सक्षम बनाउनुपर्नेमा जोड दिँदै उनले सीमापार अपराध नियन्त्रणमा सूचना आदानप्रदान र प्रविधिको प्रयोग बढाउन क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक र भारतीय समकक्षीसँगको वार्तामा यस विषयमा जोड दिएको उनले बताए।

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै गुरुङले सूचनाको गोपनीयता कायम राख्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए। उनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए फोरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको क्षमता बढाउन पनि आग्रह गरे।

प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उनको भनाइ थियो। निष्पक्ष अनुसन्धान, प्रहरीको व्यवहार र विपद्का समयमा गरिने उद्धारले राज्यप्रति नागरिकको विश्वास निर्धारण गर्ने उनले बताए।

‘नयाँ पुस्ताले सोधेको छ, राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ,’ गुरुङले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *