चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि
काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको छ। चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका कार्यक्रममा गत वर्षको तुलनामा सिट संख्या बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ।
यस वर्ष एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप गरिएको छ। यी तीन कार्यक्रममा मात्रै कुल ४१८ सिट वृद्धि भएको हो।
आयोगले यस वर्ष सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता दिएको छ। निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको आयोग स्रोतले जनाएको छ। सरकारी संस्थामा उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा जनशक्तिको अवस्था र अनुगमन प्रतिवेदनका आधारमा सिट थप गर्ने निर्णय गरिएको हो।
यस वर्ष कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। यससँगै विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट सुनिश्चित भएको छ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०/३० सिट थप गरिएको छ। गेटामा निर्धारण गरिएका ५० सिटसमेत जोड्दा एमबीबीएसतर्फ कुल ११० सिट वृद्धि भएको हो।
आयोगका अनुसार यस वर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए। ती संस्थाले माग गरेको सिट संख्याबारे सम्बन्धित निकायबाट अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा संस्थाको सिट निर्धारण गरिएको हो।
शिक्षण संस्थाले सिट माग गर्दैमा स्वीकृति नपाउने आयोगको भनाइ छ। उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको अवस्था र आवश्यक मापदण्डको अनुगमनपछि मात्रै सिट निर्धारण गरिने आयोग स्रोतले जनाएको छ।
साथै, यस वर्षको सिट वृद्धिले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा अध्ययन गर्न पाउने अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
