`

एनपीएलमा रोहित पौडेलको दबदबा

Nepal One HD ३० असोज २०८३ १५:४४
अर्थ समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन्।

ब्याटिङमा रोहित पौडेलले लगातार दुई संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाउने खेलाडीका रूपमा स्थापित गरेका छन्।

यता, बलिङमा ललित राजवंशी, सन्दीप लामिछाने, शेर मल्ल र अविनाश बोहराले एक–एक संस्करणमा १७ विकेट लिँदै आफ्नो क्षमता प्रमाणित गरेका छन्।

एनपीएलको पहिलो संस्करण सन् २०२४ मा रोहितले लुम्बिनी लायन्सबाट खेल्दै २७९ रन बनाएका थिए। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा रहेका थिए। सन् २०२५ मा सम्पन्न दोस्रो संस्करणमा पनि उनले २७६ रन बनाए। यससँगै दुई संस्करणमा रोहितको कुल रनसंख्या ५५५ पुगेको छ।

पहिलो संस्करणमा नेपाली ब्याटरमध्ये विनोद भण्डारीले २३५ र दीपेन्द्रसिंह ऐरीले २२७ रन बनाएका थिए। त्यस्तै, कुशल मल्लले २२३, लोकेश बमले १३३ र अनिल साहले १३२ रन जोडेका थिए। यी खेलाडीले पनि आफ्नो टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका थिए।

दोस्रो संस्करणमा रोहितपछि विनोद भण्डारी सर्वाधिक रन बनाउने नेपाली ब्याटर बने। उनले २६४ रन बनाउँदा विराटनगर किंग्सका बसिर अहमदले १९१, सुदूरपश्चिम रोयल्सका आरिफ शेखले १८६, लोकेश बमले १७०, दीपेन्द्रसिंह ऐरीले १६२ र ईशान पाण्डेले १६० रन बनाएका थिए।

दुवै संस्करणको रन जोड्दा रोहित ५५५ रनसहित शीर्ष स्थानमा छन्। विनोदले ४९९ र दीपेन्द्रसिंह ऐरीले ३८९ रन बनाएका छन्। यी तथ्यांकले एनपीएलमा नेपाली ब्याटरको निरन्तरता र प्रभावलाई स्पष्ट पार्छन्।

बलिङतर्फ एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिएका थिए। उनीसँगै सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी स्कट कुगेलाइनले पनि समान १७ विकेट लिएका थिए।

पहिलो संस्करणमा नेपाली बलरमध्ये किशोर महतोले १४ विकेट लिएका थिए। कर्णाली याक्सका विपिन शर्मा र चितवन राइनोजका रिजन ढकालले समान १३ विकेट हात पारेका थिए।

दोस्रो संस्करणमा भने विराटनगर किंग्सका सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र सुदूरपश्चिम रोयल्सका अविनाश बोहराले समान १७ विकेट लिए। त्यस्तै, काठमाडौं गोर्खाजका शाहाब आलम र करण केसीले १३–१३ विकेट लिएका थिए।

अघिल्ला दुई संस्करणको प्रदर्शन हेर्दा नेपाली खेलाडीले ब्याटिङसँगै बलिङमा पनि आफ्नो प्रभाव देखाएका छन्। ब्याटिङमा रोहित पौडेल र विनोद भण्डारीले निरन्तर रन बनाउँदा बलिङमा फरक–फरक खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

एनपीएलका आगामी संस्करणमा पनि यी खेलाडीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिनुका साथै नयाँ खेलाडीले पनि प्रभाव जमाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *