घ्यूका नाममा बिक्री भइरहेको प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ। उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पूजा पसल तथा स्टोरबाट पूजामा प्रयोग गर्ने घ्यूका नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो।
उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुई दर्जन ‘श्रीकृष्ण पूजा घ्यू’ लेखिएका सबै बट्टा जफत गरी आजै नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिएका छन्।
सूचना अधिकारी दाहालका अनुसार ‘दसैँ तिहारलाई लक्षित गरेर’ तथा ‘पूजा, होम, हवन र दीप प्रज्वलनका लागि’ तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ। ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले’ यस सम्बन्धमा सूचना जारी गरेको भए पनि विभिन्न सहर तथा बजारमा सो प्रतिबन्धित पदार्थ बेचिएको उनले बताएका छन्। सुर्खेत वीरेन्द्रनगरमा पनि यस्तो अवैध कार्य भेटिएको उनको भनाइ छ।
पहिलो पटक भएकाले पसल धनीलाई सचेत बनाइएको र पुनः भेटिएमा कारबाहीका लागि सिफारिस गरिने चेतावनी दिइएको सूचना अधिकारी दाहालले बताएका छन्। चाडपर्वका बेला मानिसको भीड धेरै हुने र यस्तो अवस्थामा व्यापारीले कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उनले जनाएका छन्।
उक्त कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सीमित जनशक्ति र स्रोत साधनका बाबजुद काम गरिरहेको छ। कर्णाली प्रदेशका दशमध्ये सात जिल्लालाई कार्यक्षेत्र बनाएर स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा खाद्य स्वच्छता कायम गर्ने अभियान अगाडि बढाइएको उनले बताएका छन्। म्याद नाघेका एवम् अखाद्य वस्तु बिक्री वितरण हुन नदिन नियमित अनुगमन तथा निरीक्षण भइरहेको उनको भनाइ छ। जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालिकोट जिल्ला हेर्दै आएको जनाइएको छ।
