`

दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न मन्त्रालयको निर्देशन

Nepal One HD १ कार्तिक २०८३ १०:५५
जीवनशैली/स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो।

मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएको छ। साथै, आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राख्न पनि भनेको छ।

सेवा प्रवाहका क्रममा देखिने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। ती व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउनसमेत निर्देशन दिइएको छ।

दसैँ बिदाभर नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न मन्त्रालयले निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *