`

क्यानडाविरुद्ध नेपाललाई पहिले बलिङ, गुल्शन झा टोलीमा फर्किए

Nepal One HD १ कार्तिक २०८३ ११:१२
खेलकुद

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। सन्दीप जोराको स्थानमा गुल्शन झा प्लेइङ-११ मा फर्किएका छन्।

नेपालले जारी शृङ्खलामा यसअघि क्यानडा र ओमानलाई पराजित गरिसकेको छ। सुरुवाती दुई खेलमा नेपाल र ओमानसँग हारेको क्यानडाले बिहीबार ओमानलाई हराउँदै लय समातेको थियो।

लिग-२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ। क्यानडा ३५ खेलबाट २७ अंक जोडेर सातौं स्थानमा रहेको छ।

आजको खेल नेपालका लागि छैटौं स्थान जोगाउने महत्वपूर्ण अवसर हो। क्यानडालाई हराए नेपालले छैटौं स्थान सुरक्षित गर्नेछ। तर, पराजित भए क्यानडा नेपाललाई पछि पार्दै छैटौं स्थानमा उक्लिनेछ। त्यसपछि नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दबाब हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *