दसैँको बिदामा अस्पताल बन्द गर्न नपाइने, आकस्मिकदेखि शल्यक्रियासम्म सेवा चालु राख्न निर्देशन
काठमाडौं । दसैँ आयो भन्दै अस्पतालका ढोका बन्द गर्न पाइने छैन। चाडपर्वको बिदामा पनि बिरामीको उपचार रोक्न नपाइने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालहरूलाई अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्था मिलाउन भनेको छ। आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति र सघन उपचारजस्ता संवेदनशील सेवा बिदाको बहानामा प्रभावित हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको हो।
बिरामीलाई उपचार नपाएर भौँतारिनुपर्ने अवस्था आउन नदिन अस्पतालहरूले आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्नेछ। बिदाका कारण अत्यावश्यक सेवा अवरुद्ध भए त्यसको प्रत्यक्ष मार बिरामीले खेप्नुपर्ने भएकाले सेवा सञ्चालनमा विशेष ध्यान दिन भनिएको छ।
त्यति मात्र होइन, अस्पतालमा उपचारका क्रममा देखिने समस्या र गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। सम्बन्धित व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउनुपर्ने निर्देशनसमेत दिइएको छ।
दसैँको उल्लासमा देश रमाइरहेका बेला स्वास्थ्य सेवा भने नियमित चलाउनुपर्ने मन्त्रालयको निर्देशनले चाडपर्वका समयमा पनि बिरामीको उपचारलाई प्राथमिकतामा राख्न खोजेको छ।
