४ हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेजबारे नेपाल टेलिकमको स्पष्टीकरण
काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेजबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ। कम्पनीले प्याकेजको स्वीकृति र सञ्चालनबारे तथ्यभन्दा फरक सूचना सार्वजनिक भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाएर नेपाल टेलिकमको प्याकेजबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको कम्पनीको दाबी छ।
टेलिकमका अनुसार कम्पनीले विगतदेखि सञ्चालन गर्दै आएका प्याकेजको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गर्दै आएको छ। असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीले जनाएको छ।
कम्पनीले उक्त प्याकेज यसअघि नै विद्यार्थी अफरका रूपमा प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको पनि स्पष्ट पारेको छ।
३० एमबीपीएसको एफटीटीएच प्याकेज, ४ हजार ९९९ रुपैयाँको प्याकेजको स्वीकृति तथा सञ्चालनका विषयमा सार्वजनिक भएका समाचारका कारण कुनै भ्रममा नपर्न टेलिकमले सम्बन्धित सबैलाई आग्रह गरेको छ।
साथै, नेपाल सरकारको स्वीकृत नीति तथा प्रचलित कानुनको परिधिभित्र रहेर सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै कम्पनीले कानुनको पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।
