`

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

Nepal One HD ९ कार्तिक २०८३ २१:२३
विश्व

फ्रान्स। फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ ।झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो ।

यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको यो हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिएपछि हुन लागेको यो निर्वाचनले उहाँको उत्तराधिकारी चयन गर्नेछ ।आन्तरिक मन्त्रालयका अनुसार प्रहरीले शनिबारका प्रदर्शनहरूमा ७५ वटा आगजनीलाई नियन्त्रण गरेको थियो भने २४ वटा पसल लुटिएका थिए ।

मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् ।आइतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ एक जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना गम्भीर घाइते भएको बताउनुभएको थियो ।

–प्रदर्शनकारी घाइते –

आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ ।

प्रदर्शनकारीहरूको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भन्नुभयो, “युवकको दाहिने हातका ‘केही औँला’ मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ एक जनाको हातमा चोट लागेको बताएको छ, तर कुनै औँला गुमाएको छैन ।

फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका एक जनाको तस्बिर पनि प्रकाशित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *