`

भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

Nepal One HD १० कार्तिक २०८३ १९:०२
समाचार

बागमती। मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

बरामद गरिएका गहना र सिक्काको बजार मूल्य करिब रु ४० लाख ६९ हजार ६६१ बराबरको जनाइएको छ । ती गहना र सिक्कासहित चाँदीको तौल १४ किलो १८० ग्राम छ ।

ती सामग्री ओसारपसारमा संलग्न भारत मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ गरिएका व्यक्तिसहित बरामद गरिएको सामग्री भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *