प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा तयारी भइरहेको बताएका छन् ।
त्यसैगरी, भेटमा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले नवनियुक्त राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
साथै, रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति उनले आभार व्यक्त गरेका थिए ।
