सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अलअन्सारीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिए । साथै, नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरे ।
नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सम्भावनाबारे चर्चा गर्दै उनले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गरे ।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । खेलकुदको विकास र प्रवद्र्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न उनले आग्रह गरे ।
भेटमा सभामुखले भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गर्दै नेपालको पुनर्निर्माण तथा पुनः स्थापनामा थप सहयोगको अपेक्षा गरे । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए ।
