`

बालेन सरकारकाे पक्राउको धम्कीले कांग्रेस पछि हट्दैन : गगन थापा

Nepal One HD ८ मंसिर २०८३ १८:४२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको आलोचना गरेकै आधारमा पक्राउको धम्की दिएर कांग्रेसलाई तर्साउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्ने बताएका छन् ।

उनले सरकारलाई प्रश्न गरेकै कारण र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेकै आधारमा सामाजिक सञ्जालमार्फत तर्साउने प्रयास भइरहेको बताएका हुन् ।

कांग्रेसलाई यस्ता धम्कीले कमजोर बनाउन नसक्ने भन्दै थापाले पक्राउ गर्न आउँदा हतकडी लिएर आउन चेतावनी दिए । ‘पक्रिन आउँदा खाली हात नआउनु, हतकडी लिएर आउनु । तर, हेक्का रहोस्- कांग्रेसले न क्यारेक्टर लुज गर्छ, न सभापतिले,’ उनले भने ।

थापाले कांग्रेसको आधिकारिकताका विषयमा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको पनि बताए ।

सर्वोच्च अदालतमा पार्टीको महाधिवेशन रोक्न माग गर्दै परेको निवेदन पूर्ण इजलासले प्रथम दृष्टिमै खारेज गरेको उनको भनाइ छ । निवेदन दिनेहरूमध्ये ८० प्रतिशत कांग्रेसमा फर्किसकेको र २० प्रतिशत मात्रै बाहिर रहेको उनले बताए ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनको निवेदन कसले र कुन मितिमा दिएको भन्ने विषय महत्वपूर्ण रहेको थापाको भनाइ छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निवेदन नदिएको अवस्थामा कसले वारेसमार्फत निवेदन दिएको हो भन्ने विषय खोज्नुपर्ने उनले बताए ।

‘पुनरावलोकनको निवेदन कसले र कुन मितिमा दियो भन्ने कुरा महत्वपूर्ण छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नदिएपछि कसले वारेसमार्फत निवेदन दिएको हो भन्ने कुरा खोज्दा सबै छर्लंग हुन्छ,’ उनले भने ।

सभापति थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि कांग्रेसकै सदस्यका रूपमा स्वीकार गर्ने बताएका छन् ।

वरिष्ठ नेताहरूको असन्तुष्टि र इगो हर्ट भएको हुन सक्ने भन्दै उनले सबैसँग संवाद गर्न आफू तयार रहेको बताए ।

पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई विभिन्न जिम्मेवारी दिएर समेट्ने ढोका खुला रहेको उनको भनाइ छ । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफूले पहल गर्ने उनले बताए ।

यसैबीच, थापाले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गर्ने बताएका छन् । देउवा पार्टीका पूर्वसभापति मात्रै नभई नेता र अभिभावकसमेत भएको उनको भनाइ छ । तर देउवा तल गिर्न नहुने उनले बताए ।

‘देउवा दाइ कांग्रेसका निवर्तमान सभापति मात्र होइन, हाम्रो नेता हुनुहुन्छ । हाम्रो अभिभावक हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानको सम्मान गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिक असहमति र आलोचना राजनीतिक भाषामै होस् । तपाईं अग्लै हुनुहोस्, तल नझर्नुहोस् ।’

थापाले नेपाली कांग्रेसको सदस्यता त्यागेर देउवा समूहमा गए जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिनुपर्ने पनि बताएका छन् ।

राष्ट्रियसभा सदस्य, मेयर वा वडाध्यक्ष जोसुकैले कांग्रेसको सदस्यता त्यागेर अर्को पार्टीको सदस्यता लिए पनि पद छाड्नुपर्ने उनको भनाइ छ ।

‘कांग्रेसको सदस्यता त्यागेर अर्को पार्टीको सदस्यता लिने राष्ट्रियसभा सदस्य, मेयर वा वडाध्यक्ष जो भए पनि राजीनामा दिनुपर्छ । नभए विधान कार्यान्वयन गर्ने गराउने जिम्मा मेरो हो,’ उनले भने ।

थापाले कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न १५ दिने अभियान सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

अभियानअन्तर्गत केन्द्रीय सदस्य, निवर्तमान तथा पूर्वकेन्द्रीय सदस्यहरूलाई पालिकासम्म परिचालन गरिनेछ । कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न र राष्ट्रिय शक्तिको जिम्मेवारी लिन तयार रहेको सन्देश जनतासम्म पुर्‍याइने उनले बताए ।

अभियानका क्रममा प्रत्येक पालिकाले एउटा सामाजिक परियोजना घोषणा गरी चार महिनाभित्र सम्पन्न गर्ने योजना पनि अघि सारिएको छ ।

त्यस्तै, संगठन विस्तार र आगामी निर्वाचनको तयारीका लागि विभिन्न संरचना निर्माण गर्ने कांग्रेसको योजना छ । वरिष्ठ उपसभापतिको नेतृत्वमा नीति प्रतिष्ठान, उपसभापतिहरूको नेतृत्वमा निर्वाचन ब्युरो र गभर्नेन्स इन्स्टिच्युट गठन गरिने थापाले जानकारी दिए ।

अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्न चाहनेलाई समेट्न छुट्टै समिति बनाइनेछ । लिडरसिप एकेडेमीको नेतृत्व गर्न सेमन्त दाहाललाई आग्रह गरिएको पनि उनले बताए ।

कांग्रेसले आगामी पुस १५ भित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई निर्देशन दिएको छ । बैठकमा स्थानीय तहको निर्वाचन तयारीका विषयमा समेत छलफल हुने सभापति थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *