`

स्वास्थ्य बीमाको डिजिटल कार्ड देखाए पुग्ने

Nepal One HD ९ मंसिर २०८३ १६:००
जीवनशैली/स्वास्थ्य

काठमाडौं । स्वास्थ्य बीमाको सेवा लिन अब भौतिक परिचयपत्र नै बोकेर अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत बीमाअन्तर्गतको सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमामा आबद्ध व्यक्तिलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।

नयाँ व्यवस्थाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएर सेवा लिन सक्नेछन् । तर, सेवा दिनुअघि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमा सक्रिय रहे–नरहेको यकिन गर्नुपर्नेछ ।

यसअघि अस्पतालहरूले भौतिक परिचयपत्र देखाएपछि मात्रै स्वास्थ्य बीमाअन्तर्गत सेवा दिने गरेका थिए । कार्ड हराएका, घरमै छुटेका वा साथमा भौतिक परिचयपत्र नभएका सेवाग्राहीलाई उपचार लिन समस्या हुँदै आएको थियो ।

बोर्डका प्रवक्ता पवनकुमार शाहका अनुसार नयाँ व्यवस्थाले यस्ता सेवाग्राहीलाई अस्पतालमा उपचार लिन सहज बनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *