`

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

Nepal One HD १० मंसिर २०८३ १४:५३
राजनीति

काठमाडाैं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी रसुवाको आमाछोदिङमो गाउँपालिका पुगेकी छन् ।

आज गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीका कारण महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका समस्या र उनीहरूको वर्तमान अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्रीको निजी सचिवालयका अनुसार अनुगमनका क्रममा उनले बाढीपछिको जनजीवन, प्रभावित समुदायका तत्कालीन आवश्यकता, सुरक्षा चुनौती तथा पुनःस्थापनाका समस्याबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरेकी थिइन् ।

त्यस्तै, छलफलका क्रममा मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले विपद्का समयमा जोखिममा रहेका समुदायको आवश्यकता पहिचान गरी राहत, संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

यसैबीच, आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षाका लागि मन्त्रालयका विशेष कार्यक्रम तथा पहल गाउँपालिकाबाटै सुरु गरिने बताइन् ।

साथै, भोटेकोशी बाढीबाट प्रभावित समुदायको जीवनयापन सहज बनाउन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सामाजिक सुरक्षाका कार्यक्रम आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *