काठमाडौँमा पहिलोपटक साताव्यापी ‘मलेसियन फुड फेस्टिभल २०२६’ आयोजना
काठमाडौं। मलेसियाको समृद्ध पाककला, मौलिक स्वाद र बहुसांस्कृतिक पहिचानलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पहिलोपटक साताव्यापी ‘मलेसियन फुड फेस्टिभल : अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गरिएको छ। काठमाडौँस्थित मलेसियाली राजदूतावासको संयुक्त आयोजनामा क्राउन इम्पेरियल होटलमा सुरु भएको महोत्सव मङ्सिर १० देखि १६ गते (नोभेम्बर २६ देखि डिसेम्बर २, २०२६) सम्म सञ्चालन हुनेछ।
जोम नेपाल प्रालि, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेज र एजुकेसन मलेसिया ग्लोबल एजुकेसनको सहकार्यमा आयोजित महोत्सवमा मलेसियाबाट आएका अनुभवी सेफहरूले विभिन्न परम्परागत परिकार तयार पारिरहेका छन्।
मलय, चिनियाँ, भारतीय तथा आदिवासी समुदायको सांस्कृतिक विविधताबाट विकसित मलेसियाली खानपानका मौलिक स्वाद, सुगन्ध र मसलासँग नेपाली पारखीलाई परिचित गराउनु महोत्सवको प्रमुख उद्देश्य रहेको राजदूतावासले जनाएको छ।
महोत्सवले मलेसियाली खानाको प्रवर्द्धनसँगै नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। खानपान र सांस्कृतिक आदानप्रदानमार्फत दुई देशका नागरिकबीच आपसी समझदारी, सद्भाव र जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास दूतावासले व्यक्त गरेको छ।
यसै अवसरमा राजदूतावासले मङ्सिर १२ गते बिहान ८ बजे ललितपुरको कुपण्डोलस्थित पीसीपीएस कलेजबाट ‘भिजिट मलेसिया इयर २०२६ वाकाथन’ आयोजना गर्ने भएको छ। वाकाथनपछि इन्टरनेसनल क्लबमा ‘माया मलेसिया २०२६’ कार्यक्रम सञ्चालन हुनेछ।
उक्त कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, खानपान तथा संस्कृतिका साथै मलेसियाका प्रमुख पर्यटकीय गन्तव्य र उच्च शिक्षाका अवसरबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
राजदूतावासले सर्वसाधारण, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा मलेसियाप्रति रुचि राख्ने सबैलाई महोत्सव र सम्बन्धित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
साथै, यी कार्यक्रममार्फत सहभागीहरूले मलेसियाली आतिथ्य, कला, संस्कृति र मौलिक परिकारको प्रत्यक्ष अनुभव लिन सक्ने दूतावासको विश्वास छ।
