कपिलवस्तुमा १३ अर्बको सिमेन्ट उद्योग बन्दै, ऋण जुटाउनै सकस!
काठमाडौं । सिमेन्ट बजारमा नयाँ खेलाडी थपिने तयारीमा छ। लुम्बिनी प्रदेशको कपिलवस्तुमा झन्डै १३ अर्ब रुपैयाँको लगानीमा गौरीशंकर सिमेन्ट उद्योग निर्माण भइरहेको छ।
महाशक्ति सिमेन्टको अगुवाइमा अघि बढाइएको यो परियोजनाले दैनिक २ हजार ५०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखेको छ। तर उद्योगको निर्माणसँगै यसको वित्तीय व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ।
गौरीशंकर सिमेन्ट प्रालिले उद्योग निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट करिब ९ अर्ब ९५ करोड रुपैयाँ ऋण लिने योजना बनाएको छ। त्यसमध्ये दीर्घकालीन कर्जाको ६ अर्ब ७३ करोड रुपैयाँ मात्र सुनिश्चित भएको छ। बाँकी करिब २ अर्ब ७७ करोड रुपैयाँको स्रोत अझै जुटाउनुपर्ने देखिन्छ। ठूलो लगानीको परियोजना अघि बढे पनि आवश्यक ऋणको व्यवस्था पूरा भइसकेको छैन।
कम्पनीले सन् २०२६ जनवरीसम्ममा ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जनाएको छ। यो परियोजनाको करिब ६६ प्रतिशत वित्तीय प्रगति हो। चुक्ता पुँजी र सेयर आवेदनबाट प्राप्त रकमसहित इक्विटीको ८४.८६ प्रतिशत लगानी भइसकेको कम्पनीको विवरणमा उल्लेख छ।
सन् २०२१ मा दर्ता भएको कम्पनीले सन् २०२७ फेब्रुअरीदेखि व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखेको छ। उद्योगलाई आवश्यक चुनढुङ्गा प्यूठान र अर्घाखाँचीका तीनवटा खानीबाट ल्याइनेछ। ती खानी उद्योगबाट ५० देखि ११० किलोमिटर टाढा छन्। खानीमा ६ करोड ७० लाख टन चुनढुङ्गा रहेको अनुमान गरिएको छ। दैनिक ८ हजार ५०० टन चुनढुङ्गा उत्पादनको अनुमति पाएको कम्पनीले खानीको अवस्थाअनुसार १५ देखि ५४ वर्षसम्म उत्पादन गर्न सकिने आकलन गरेको छ।
कम्पनीमा महाशक्ति सिमेन्टको ९८.३० प्रतिशत स्वामित्व छ भने दिनेश कर्मचार्यको १.७० प्रतिशत हिस्सा रहेको छ। श्यामप्रसाद पौडेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि करिब ९ अर्ब ५० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ।
