चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ
सिन्धुपाल्चोक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार जाँचका क्रममा उक्त रकम बरामद भएको हो । इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान नोट छन् । उक्त रकम नेपाली रु १६ लाख छ हजार ८०० बराबर रहेको उहाँले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु र ४३ वर्षीय बुजियान्दु ओजीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।स्कारपियोका चालक भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।
