`

‘अख्तियारलाई चाहिने सबै सहयोग गर्न म तयार छु’ : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २४ पुष २०७९ १३:२९
समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताएका छन् । आइतबार विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भेटवार्तामा उनले यस्तो बताएका हुन् । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ । भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु । हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन । सुरक्षा अंगको कार्यक्षमता पनि राम्रो छ । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न सकिएको छैन । यसपटक सही नेतृत्व र सही व्यवस्थापन गरिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले अख्तियारलाई चाहिने सबै सहयोग गर्न सरकार तयार रहेको पनि बताए । ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने उनले आश्वासन दिए ।


प्रतिक्रिया