श्री संजय साई बाबाको ३५औं जन्मोत्सव : माघ ६ गते काठमाडौंमा बृहत् कार्यक्रमको आयोजना गरिँदै


लाखौं साई भक्तहरूका आस्थाका प्रतीक श्री संजय साई बाबाको ३५औं शुभ जन्मोत्सबको अवसर पारेर श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपालले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । जसमा बुद्धिजीवी समाजसेवी र शिक्षावीद्लगायत देश बिदेशका असंख्य साई भक्तहरूको उपस्थिति थियो ।
कार्यक्रममा संजय साईले दार्शनिक प्रवचन दिँदै स्वधर्म र स्वराज्यबारे प्रकाश पार्नु भएको थियो । केही समयअगाडि विश्व हिन्दू महासंघले आयोजना गरेको धर्म सभामा प्रमुख अतिथिका रूपमा व्यक्त मन्तव्यको स्मरण गराउँदै नेपालमा धर्मयुद्ध होइन अस्तित्वका लागि द्वन्द्व भइरहेको उहाँले बताउनुभयो । मानवले आफ्नो अस्तित्वको रक्षाका लागि अरूको पनि अस्तित्वलाई सम्मान गर्नुपर्छ भन्दै पशु र मानवबीच रहेको फरक र विशेषता बारेमा जानकारी गराउनुभयो । स्वधर्म नजानी स्वराज्य जान्न सकिन्न भन्ने विषयमा उहाँले स्पष्ट पार्नुभयो ।
आत्मचिन्तन, स्वपरिचय, स्वधर्म र स्वराज्यका लागि निरन्तर लागि रहनुपर्ने बताउँदै उहाँले नेपाल आफैंमा जीवित राष्ट्रपुरुष भएको बताउनुभयो । उहाँले सम्पूर्ण सभ्यता र नेपाल बारे चर्चा गर्नु हुँदै स्वधर्मको रक्षा, स्वराज्यको परिकल्पना र सनातन धर्मको रक्षा आफ्नो संकल्प रहेको बताउँदै अवतारसँगै व्यक्तित्व पनि आउने हुँदा भगवान कृष्ण, राम, बुद्धको व्यक्तित्वबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।
श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा यही पुस २ गतेदेखि विविध ३५ दिने सामाजिक अभियान सञ्चालन भइरहेका छन् । उहाँको ३५औं जन्मोत्सवको अवसरमा यही माघ ६ गते काठमाडौंको सानो गौचरनमा बृहत् कार्यक्रमको आयोजना गरिँदै छ । कार्यक्रममा देश तथा विदेशबाट विशिष्ट व्यतित्वहरूको उपस्थिति रहने कुरा संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।