`

प्रदेश नं १ मा एमालेको दौडधुप को बन्लान् त इन्चार्ज ?

Nepal One HD १७ माघ २०७९ ११:३०
राजनीति

विराटनगर – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरे सभामुखमा निर्वाचित भएपछि रिक्त भएको इन्चार्जको पद हत्याउन नेताहरूले लबिङ तीव्र पारेका छन् ।

एमालेको १० औँ महाधिवेशनपछि घिमिरेलाई प्रदेश नं १ को इन्चार्जको जिम्मेवारी दिइएको थियो । पदीय जिम्मेवारीका कारण घिमिरेले पार्टीका सबै पदबाट राजीनामा गरेपछि प्रदेश नं १ को भूगोलमा रहेका ६ जना नेताहरूले आफू इन्चार्ज हुन पाउनु पर्ने भन्दै नेताहरूसँग लबिङ बढाएका हुन् ।

प्रदेश नं १ मा रहेका ९ जना स्थायी कमिटी सदस्य मध्ये हिक्मत कार्की मुख्यमन्त्री र अग्नि खरेल झापा जिल्ला इन्चार्ज हुनुहुन्छ । हालका प्रदेश सहइन्चार्ज मध्ये विनोद ढकाल र जीवन घिमिरे पोलिटब्युरो सदस्य हुन् । उहाँहरू दुवै जनाको दाबी नपुग्ने पार्टी नेताहरू बत्ताउँछन् ।

राष्ट्रपतिको निर्वाचनभन्दा अघि बस्ने एमाले सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी व्यापक रूपमा हेरफेर गर्ने तयारी छ । सोही क्रममा प्रदेश १ को इन्चार्जमा पनि नयाँ नेतालाई पठाउने तयारी पार्टी नेतृत्वले गरेको छ ।  इन्चार्जको दौडमा गुरु बराल, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शेरधन राई, शिवमाया तुम्बाहाम्फे  छन् ।

गुरु बरालले आफू पुरानो र प्रदेश नं १ को भूगोललाई नै केन्द्रित गरेर राजनीति गरेकोले उक्त पद आफूले पाउनु पर्ने दाबी पेस गर्दै आउनु भएको छ । अर्का नेता शेरधन राई आफू पूर्व मुख्यमन्त्री समेत भइसकेकोले पार्टीलाई मिलाएर लैजान र संगठन विस्तार गर्न सहज हुने दाबी गर्दै आउनुभएको छ । जनसंगठन सञ्चालन संयन्त्रका संयोजक भानुभक्त ढकाल अर्का सशक्त दावेदार हुनुुहुन्छ ।

प्रदेश नं १ कै बासिन्दा भएपनि काठमाडौं केन्द्रित भएर बढी काम गरेकोले आफूलाई भूगोलमा गएर पार्टीको काम गर्न इच्छा भएको ढकालले नेतृत्वसँग भन्दै आउनुभएको छ । भूगोलको जिम्मेवारी पाएमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ मा पनि पार्टीको पकड बढाउन सकिने ढकालको योजना छ । तर खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री भएपछि उक्त संगठन विभागको प्रमुख रिक्त गराएर आफूले उक्त विभागको नेतृत्व लिन चाहेको पनि ढकालले निकटस्थलाई बताउँदै आउनुभएको छ ।

अर्का दाबेदार राजेन्द्र गौतम हुनुहुन्छ । प्रदेश सहइन्चार्ज र संखुवासभाको समेत इन्चार्ज गौतम आफू पुरानो नेता भएको र पछिल्लो पाँच वर्षमा कुनै पनि राजकीय जिम्मेवारी प्राप्त नगरेकोले अब प्रदेश १ को इन्चार्ज पद आफूले पाउनु पर्ने दाबी गर्दै आउनुभएको छ ।

पार्टीको कानुन विभाग प्रमुख शिवमाया तुम्बाहाम्फेले पनि इन्चार्जको लागि सशक्त दाबी गर्दै आउनुभएको छ । महिलाले पनि प्रदेशको इन्चार्ज सीप कुशलतापूर्वक चलाउन सक्छन् भन्ने देखाउन आफूले त्यो पदमा दाबी गरेको उहाँको भनाइ छ । पूर्व मुख्यमन्त्री भीम आचार्य पनि भित्रभित्रै प्रदेशको इन्चार्ज आफूले पाउनु पर्ने भन्दै नेताहरूसँग लबिङमा हुनुहुन्छ । पार्टीका कतिपय नेताहरू चाहिँ सचिव योगेश भट्टराईलाई प्रदेश नं १ को इन्चार्ज बनाएर भूगोलमा खटाउनु पर्ने लबिङ गर्दै आएका छन् ।


प्रतिक्रिया