स्रोत र जनशक्तिको परिचालन गरी नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्ने सञ्चार मन्त्रीको आग्रह


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनमा उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्ने आग्रह गरेकी छन् । मंगलबार नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले टेलिभिजनलाई आधारभुत जनताले महशुस गर्नेगरी योजनाहरु तय गर्न पनि उनले आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलतायुक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्रका र देश बाहिरका समेत अनगिन्ति टेलिभिजन च्यानलहरुकाबिच आफुलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने चुनौति रहेको छ । यसको लागि उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।’
मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको समेत बताएकी छन् । सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रशारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रविधि र पहुँचमा पनि बिस्तार र सुधार गर्दै लानुपर्ने बताइन् ।