प्रदेश १ लाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने प्रधानमन्त्रीको आश्वासन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भेटर्वाता भएको छ । बुधबार बिहान बालुवाटार प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका कार्कीबीच सरकारको काम र विकास निर्माणबारे छलफल भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेको कार्कीले बताए । उनले भने, ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्की भन्छन्, ‘मैले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने बताएको छु ।’
भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो’, कार्कीले भने, ‘प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’ प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् ।