प्रतिनिधिसभा उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्छ : पूर्वकानुनमन्त्री पौडेल


काठमाडौँ – प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् ।बुधबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले अहिले २५ वर्ष नपुगी संसदीय चुनावमा उम्मेदवार बन्न पाइँदैन तर यसलाई घटाएर १८ देखि २० वर्ष बनाउनु पर्नेमा जोड दिएका हुन् । पूर्वकानुनमन्त्री पौडेलले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेको बताए । त्यसैले त्यसलाई सच्याउन आवश्यक रहेको पौडेलको भनाइ छ । उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने मत राखे ।
उनले भने, ‘अब हजुरहरूले संविधानमा पनि सुधार गर्न जरुरी छ । उम्मेदवार बन्न पाउने उमेर घटाउनुपर्छ । प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बन्न २५ वर्ष तोकिएको कुरा १८ औँ शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका, फ्रान्समा १९/२० वर्षका मानिसहरू मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरूलाई आकर्षित गर्न पनि २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’
पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए । उनले अहिले राजनीतिक दलबाट समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग भइरहेको टिप्पणी गरे ।