`

अदालतबाट पुर्जी बुझेर सांसद अरुणकुमार चौधरी जेल चलान

Nepal One HD २० माघ २०७९ ११:१४
प्रमुख खबर

काठमाडौं ।  १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेमा पक्राउ परेका उनलाई शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको  हो । १५५ को सुविधा लागि उले कारागारबाटै निवेदन दिन सक्ने छन् । जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्ने जनाएको छ ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।


प्रतिक्रिया