सन्दीप र क्यानलाई बहिष्कार गर्न माग गर्दै युवाहरुद्धारा माइतीघरमा प्रदर्शन


काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरुद्ध विरोध प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघरमा युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।
नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो । तर मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । बिहीबार साँझ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको थियो ।
सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन् ।