‘मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्छ’ : सञ्चारमन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रका विज्ञहरुको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गरेकि छन् । सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानून र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरु सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको बताएकी हुन् ।
शर्माले सरकारले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको पनि बताएकी छन् । उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।
उनले भनिन्, ‘आमसञ्चारको क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुने राज्यको सबलिकरण हुनु हो । देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारीता अभिन्नअंगका रुपले जोडिएको छ । राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव थिएन । राजनीतिक परिवर्तनमा काँधमा काँध मिलाएर मिडिया सकारात्मक नहुँदा के हुन्छ र नकारात्मक रुपमा रोल गर्दा कस्तो असर पर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो ।’
उनले भनिन्, ‘मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्छ । नकारात्मक विषयमा आलोचनात्मक रुपमा लेख्ने र सकारात्मक विषयलाई सकारात्मक भएर लेख्ने विषयमा सहकार्य गरेर अगाडि बढ्दा सरकारकालाई कुनै बेफाइदा गर्दैन । आलोचनाले कसैलाई पनि बेफाइदा गर्दैन ।’
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । उनले आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलीकरण हुनु सरह रहेको बताइन् ।