सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको प्रश्न- ‘गोंगबु घटना कसरी भयो ? त्यसमा दोषी को-को छन् ?’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका हुन् । छलफलमा उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए ।
छलफलका क्रममा उनीहरूले घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए ।