प्रधानमन्त्री प्रचण्डको परराष्ट्र मामिला सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त


काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । सापकोटाले चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् । उनलाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप(कार्यकारी निर्देशक थिए ।
सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् ।
सन् २०१८मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए । उनी चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।
उनलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको सापकोटाले जानकारी दिए ।