राष्ट्रपति निर्वाचनमा कांग्रेस-एमाले सहकार्य हुनसक्छ :उपमहासचिव प्रदीप ज्ञवाली


पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएको छन्। पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।
मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गरेका हुन् ।
आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस(एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।
उपमहासचिव ज्ञवालीले आजै पाँचथरमा ग्रास रुट अभियानको उद्घाटन गरेका हुन् ।