नेपालबाट तान्त्रिकलगायत प्रयोजनका लागि कुन कुन जीवजन्तुको तस्करी हुने गरेको छ?
नेपालमा वन्यजन्तु संरक्षणका निम्ति राज्यले सकारात्मक पहल थाले पनि ती सुखद र पर्याप्त नभएको जानकारहरूले बताएका छन्। विशेषगरी वन्यजन्तु अपराधको सन्दर्भमा कानुनहरू कार्यान्वयन नहुनु र साना स्तनधारी वन्यजन्तुको आवश्यकताबारे उचित विमर्श र जानकारी नहुनुले विभिन्न चुनौतीहरू खडा गरेको विज्ञहरूको बुझाई छ।
शुक्रवार संयुक्त राष्ट्रसङ्घले ५० औँ विश्व वन्य जीवन दिवस मनाइरहँदा बीबीसीले वनका वैभवमा महत्त्वपूर्ण मानिने, नेपालका केही दुर्लभ वन्यजन्तुबारे यहाँ चर्चा गरेको छ।
आफ्नो धारणा प्रस्तुत गरेका अधिकांश जानकारले नेपालमा ”बाघ र गैँडाजस्ता जनावरबारे पर्याप्त चर्चा र काम भए पनि साना स्तनधारी जनावरहरूको संरक्षण बेवास्ता गरिएको” टिप्पणी गरेका छन्।
“वन्यजन्तुबारे हाम्रो बहस बाघ, हात्ती र गैँडामा केन्द्रित भएको छ। तर अन्तर्राष्ट्रिय स्तरमा अवैध व्यापार भइरहेका स-साना वन्यजन्तुको बेवास्ता गरिएको छ। तीनको संरक्षण अत्यावश्यक छ,” मकवानपुरका डिभिजन वन अधिकृत, विष्णुप्रसाद आचार्यले भने।
विश्वमै संवेदनशील, लोपोन्मुख तथा सङ्कटापन्न अवस्थामा रहेका भनिएको वन्यजन्तुहरू नेपालका केही निश्चित क्षेत्रमा पाइने बताइन्छ। तिनीहरूको संरक्षण र सङ्ख्या वृद्धिमा जोड दिनुपर्ने आचार्य बताउँछन्।
नेपालमा पाइने केही दुर्लभ वन्यजन्तु
सालक
विज्ञहरूका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, सुर्खेत, इलाम, ताप्लेजुङलगायत ठाउँमा पाइने सालक लजालु र प्रतिकार गर्न नसक्ने जन्तुमा पर्छन्।पछिल्लो समय सङ्ख्यात्मक हिसाबमा धेरै कम नभए पनि यसको बढ्दो अवैध व्यापारका कारण यसको संरक्षणमा चुनौती बढेको आचार्यको भनाई छ।
उनका अनुसार मकवानपुर जिल्लाका १५० भन्दा बढी सामुदायिक वनमा सालक पाइन्छन्।“यो भुईँ वर्गको जनावर हो। यो कोमल प्रकृतिको हुन्छ र प्रतिकार गर्न सक्दैनन्। त्यसैले मानिसहरूले सहजै मारिरहेका छन्,“ उनले भने।“कतिपयले सालक माछा ठानेर मार्छन्। कतिले चीन र भियतनामलगायत देशमा पुर्याउन। त्यसैले हाम्रा जङ्गलमा हिजो प्रशस्त भएका सालक आज सकिँदै गएका छन्।“
सालक तामे र कालो रङ्गका हुन्छन्। यसको शरीरको तल्लो भागमा मात्र छाला हुन्छ र माथिल्लो भागमा कत्ला हुन्छ।“मानिसहरू ५/६ हजार रुपियाँको लागि सालक सिकार गरेको अवस्थामा पक्राउ परेका छन्। राष्ट्रिय निकुञ्ज ऐनमा यसको अङ्ग ओसारपसार गरे १५ वर्षसम्म जेल सजाय वा ५ देखि १० लाख जरिवानाको व्यवस्था छ। तर पनि यसको सिकार नियन्त्रण भएको छैन,” उनले भने।
लघु कर्ण खरायो
जानकारहरू घाँसे मैदानकै अभावका कारण लघु कर्ण खरायो दुर्लभ बन्दै गएको बताउँछन्। अन्य खरायोको तुलनामा यसको कान निकै सानो हुने भएकाले यसलाई लघु कर्ण खरायो भनिन्छ।उनका अनुसार यो खरायो आजभोलि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका केही भागहरूमा पाइने बताइन्छ।
“तराईका विभिन्न संरक्षित क्षेत्रहरूमा छन्। तर त्यस्ता ठाउँहरूमा नियोजित आगो लगाउने बेलामै यसको प्रजनन गर्ने समय भएकाले निकै प्रभावित बनेका छन्,” उनले भने।माघ, फागुन र चैत यस जनावरको प्रजननको समय भए पनि घाँसे मैदानमा गरिने आगलागी वा खर मास्ने प्रक्रियाले यसको अवस्था संवेदनशील बन्दै गएको बताइन्छ। त्यस्तै मासुका लागि यसको अवैध बिक्री समेत हुने गरेको जानकारहरू बताउँछन्।
विश्वमै ३०० वटा मात्र भएको ठानिएको यस खरायो शुक्लाफाँटामा मात्र ३० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक पुस्तकमा उल्लेख गरिएको छ।
जङ्गली याक
नेपालमा धेरै वर्षसम्म नदेखिएको भए पनि छ भन्ने पुष्टि भएको दुर्लभ जनावर हो जङ्गली याक वा वन चौँरी। यो हुम्लाको लिमी उपत्यकाबाट उत्तरतर्फ केही पटक देखिएको जानकारी दिन्छन्, साना स्तनधारी जनावर संरक्षण तथा अनुसन्धान संस्थाका निर्देशक एवं अनुसन्धानकर्ता सन्जन थापा।
यो जनावर नेपाल, भारत र चीनका सुक्खा हिमाली क्षेत्रमा पाइन्छ। नेपालमा यसको सङ्ख्या यकिन नभएको विभागको वेबसाइटमा उल्लेख छ।यो चरणका लागि तिब्बततर्फ जाने गरेको र त्यहाँबाट फर्कन्छ वा फर्कँदैन भन्ने यकिन नभएको उनको भनाई छ।“नेपालबाट चीनतर्फ गएका जङ्गली याकहरूमध्ये निकै कम मात्र फर्कने गरेको पाइएको छ। यो विश्व परिवेशमै लोपोन्मुख जनावर हो,” उनले भने।
मुसे मृग
नेपालमा पहिले पाइने तर हाल अति लोपोन्मुख जनावर हो मुसे मृग। अनुसन्धानकर्ताहरूका अनुसार अहिले यो नेपालमा पाइन्छ या पाइँदैन भन्ने यकिन छैन। अनुहारको भाग मृगको जस्तो देखिने भएकाले इन्डियन सेभ्रोटिन नामक यस प्रजातिलाई मुसे मृग नाम दिइएको जानकारहरू बताउँछन्।
जङ्गल वरपरका स्थानीय बासिन्दाहरूको भनाई र केही अध्ययनको आधारमा यसको उपस्थिति ठम्याइएको बताइन्छ।“यस वन्यजन्तुबारे थुप्रै आकलन गरिएका छन्। पछिल्लो समय यो लोप नै भएको हुनसक्ने ठानिएको छ,” थापाले भने।
लाटोकोसेरो र चराहरू
ठूला जनावरको सङ्ख्या घट्नु, सिकार र अवैध व्यापारबारे छलफल र चर्चा भए पनि चराहरूको सन्दर्भमा यस्ता बहस पर्याप्त नभएको बताउँछन् डिभिजन वन कार्यालय काठमाण्डूका अधिकृत बद्री कार्की।सहरी क्षेत्रमा चरा पाल्ने सोखले अवैध व्यापार बढाएको उनले दाबी गरे। गत कार्तिक महिनामा मात्रै डिभिजन वन कार्यालयले काठमाण्डूका फरक फरक क्षेत्रबाट ६०० भन्दा बढी चराहरू जफत गरेको उनले बताए।
“मासु, औषधिजन्य प्रयोजन र धार्मिक कार्यको लागि चराको व्यापार हुने गरेको पाइयो। धार्मिक हिसाबमा मन्दिरमा छोड्ने परेवाको व्यापार गरेजस्तो गरेर भित्रभित्रै बेच्न नमिल्ने चराहरू पनि राखिएको पाइयो,” कार्कीले भने।यद्यपि, लाटोकोसेरो र गिद्धको संरक्षणमा राम्रो कामहरू भइरहेको उनको भनाई छ।
तर, प्रकृति संरक्षणका लागि काम गर्ने संस्था फ्रेन्ड्स अफ नेचरका निर्देशक तथा लाटोकोसेरोबारेका अनुसन्धाता राजु आचार्यका अनुसार नेपालमा वार्षिक दुई हजार वटा लाटोकोसेरो मारिन्छन् वा तीनको अवैध व्यापार गरिन्छ।संसारभर पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत अर्थात् २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू नेपालमा अभिलेखीकरण भएका छन्।
“यो लगायत अन्य चराहरू प्राय रोग निको हुने अन्धविश्वासमा खानको लागि, चीनमा औषधीय प्रयोजनका लागि र भारतमा तान्त्रिकहरूको प्रयोगका लागि पुर्याइन्छन्। कतिपयले घरहरूमा शुभ हुने विश्वासका कारण समेत अवैध रूपमा राख्ने गरेका छन्,” आचार्यले भने।
डाँफे, मुनाल, बगेडी, कालिज, कस्तुरीलगायत चराहरू पनि उल्लेख्य सङ्ख्यामा सिकार हुने गरेको बताइन्छ।“काग, गिद्धजस्ता खान नमिल्नेबाहेक यहाँ सबै किसिमका चरा मारिन्छन् वा तिनीहरूको अवैध व्यापार हुन्छ।“संसारभर पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत अर्थात् २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू नेपालमा अभिलेखीकरण भएका छन्।
“यो लगायत अन्य चराहरू प्राय रोग निको हुने अन्धविश्वासमा खानको लागि, चीनमा औषधीय प्रयोजनका लागि र भारतमा तान्त्रिकहरूको प्रयोगका लागि पुर्याइन्छन्। कतिपयले घरहरूमा शुभ हुने विश्वासका कारण समेत अवैध रूपमा राख्ने गरेका छन्,” आचार्यले भने।
डाँफे, मुनाल, बगेडी, कालिज, कस्तुरीलगायत चराहरू पनि उल्लेख्य सङ्ख्यामा सिकार हुने गरेको बताइन्छ।“काग, गिद्धजस्ता खान नमिल्नेबाहेक यहाँ सबै किसिमका चरा मारिन्छन् वा तिनीहरूको अवैध व्यापार हुन्छ।“समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।
