होली पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा अर्थात् होलीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्दैश जारी गर्दै होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन् “नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो” “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास मैले लिएको छु ।”
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा होली पर्व मनाइने गरिन्छ ।
