`

उत्पीडित वर्गहरूले आफ्नो अधिकार भीक मागेर नभई सङ्घर्षद्वारा प्राप्त गर्नुपर्छ : प्रचण्ड

Nepal One HD ७ चैत २०७९ १६:३२
राजनीति

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले बाहेक कसैले पहल नगर्ने दाबी गर्नुभएको छ ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मूल आयोजक समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जातीय भेदभावमा परेका समुदायहरूको हक अधिकार स्थापितका लागि आफूले बाहेक अरू कसैले केही गर्न नसक्ने दाबी गर्नुभएको हो ।

उहाँले दलित समुदायहरूले सयौँ वर्षसम्म सम्झने गरी छिटै केही घोषणा गर्न लागेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्गहरूले आफ्नो अधिकार भीक मागेर नभई सङ्घर्षद्वारा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उहाँले बताउनुभयो । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थापकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइँदै आएको छ । नेपाली दलित आन्दोलनले यो दिवसलाई वि.सं. २०४६ देखि निरन्तर देशव्यापी रूपमा मनाउँदै आएका छन् ।


प्रतिक्रिया