नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा आयोजित राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
यसअघि ०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० थियो ।