तेस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
सुर्खेत – गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ।
आज अपराह्न ३ः०० बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँलाई नेपाली काँग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा आजदेखि औपचारिक रूपमा सदनमा उपस्थिति जनाउनेछ ।
उता, कर्णाली प्रदेशसभाका विभिन्न चार वटा समितिले आज नै पूर्णता पाउने भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् ।
‘उहाँहरूले दलबाट प्रतिनिधित्व हुने गरी चार वटा समितिका लागि सांसदहरूको नाम पठाइसक्नुभएको छ,’ सचिव बुढाथोकीले भन्नुभयो ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनुहुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’
आज समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उहाँको भनाइ छ । ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नुहुनेछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रियाअघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’
