उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति यादव


काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बिहीबार काठमाडौँमा ग्रील तथा स्टिल व्यवसायी महासङ्घ नेपालको २८ औँ साधारण सभा तथा नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।
उहाँले देशको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रका अग्रणी संस्थाहरूले रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दक्ष जनशक्तिको अभाव, सहज वित्तीय पहुँच, ग्रीलजन्य बस्तुको मूल्यवृद्धि लगायतका विषयमा आवश्यक कदम चाल्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताउनुभयो । ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवागमन बढेको र बैङ्कहरूको ब्याजदर कमी हुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुँदै गएको सङ्केत पैदा भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा महासङ्घले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।