`

सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

Nepal One HD २१ वैशाख २०८० २०:२२
राजनीति

गोदावरी – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उहाँले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिनुभयो । अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले पुराना दल सक्किने होइन, सच्चिनु पर्छ भन्ने सन्देश दिएको टिप्पणी गर्नुभयो । देश र जनताका पक्षमा काम गर्न सकिएन भने जनता निराश हुने भन्दै उहाँले पुराना दल सच्चिनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले गठबन्धन दलमा कुनै समस्या नरहेको बताउँदै साना–तिना समस्या भएकाले छलफल गरेर समाधान गरी गठबन्धन अगाडि बढ्ने स्पष्ट गर्नुभयो । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारबारे गठबन्धन दलहरूबीच छलफल भइरहेकाले चाँडै निकास निस्केर प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया