गठबन्धनमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने बालुवाटारमा सहमति


काठमाडौँ – सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच यस्तो सहमति भएको हो । बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् ।
‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो। सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ।’ उनले भने ।
बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको उनको भनाइ छ।
उनले भने, ‘बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको छ। उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। प्रधानमन्त्रीले पनि आफ्नो कुरा राख्नुभयो।’
त्यसो त नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको दिए। अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए।