`

जनशक्तिको अभावमा मन्त्रालयको सेवा प्रभावकारी हुन सकेन : मन्त्री साउद

Nepal One HD ६ असार २०८० १८:४३
राजनीति

काठमाडौँ / परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हँुदा सेवा प्रभावित हुँदै आएको बताउनुभएको हो । “यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ”, उहाँले भन्नुभयो, “कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहँुदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।”

‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उहाँले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा गुनासो बढेको बताउनुभयो ।

उहाँले राहदानी सरकारलाई सरकारमार्फत (जिटुजी) खरिद गर्न समयको अभाव भएको भन्दै ‘भेरियसन’ मार्फत खरिद गर्न तयारी रहेको जानकारी दिनुभयो । “मैले एक देशको राजदूतावासमार्फत पासपोर्ट जिटुजी ‘सप्लाइ’ गर्न सकिन्छ कि भन्ने छलफल गर्दा चार महिनाभित्र गर्न सकिन्न भन्ने कुरा आयो”, उहाँले भन्नुभयो, “त्यसैले भेरियसनमा जानुपर्ने अवस्था छ ।”

उहाँले ६६ पेजको छापिएको चार लाख राहदानीमा दुई वर्षको अवधिमा जम्मा पाँच हजार मात्र वितरण भएको बताउँदै यसप्रतिको आकर्षण कम भएकाले मूल्य पाँच हजार कायम गरेको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया