धनुषामा भारतीय चोरीको गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने गिरोह पक्राउ

धनुषामा भारतीय चोरीको गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने गिरोह पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषामा भारतीय गाडीमा नेपाली नम्बर प्लेट लगाएर चलाउँदै आएको ४ वटा गाडीसहित ७ जनालाई पक्राउ गरेको छ । भन्सार चोरी निकासीका गाडीहरू भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखी नेपालमा चलाइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले ४ वटा गाडीसहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले प्रदेश २–०३–००१ च. ११४० नम्बरको क्रेटा, प्रदेश–२–०३–००१ च ०११० नम्बर भएको भिट्रा ब्रेजा, प्रदेश–२–०३–००१ च ५४८७ नम्बरको भिट्रा ब्रेजा, प्रदेश २–०३–००१ च ३७३९ नम्बरको स्कारपीयो अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसरी भारतीय गाडीमा नेपाली नम्बर प्लेट लगाएर बिक्री गरिरहेको आरोपमा महोत्तरी जलेश्वर–३ मलवाराका ५० वर्षीय मोख्तार अन्सारी, लोहरपट्टी–६ का ४० वर्षीय जमजम भन्ने अन्सारूल कवारी, लोहरपट्टी–४ का ३७ वर्षीय अजिम राईन, लोहरपट्टी–६ का २८ वर्षीय मोबारक अली, महोत्तरी मनरासिसवा–६ का ३२ वर्षीय रोशन कुमार ठाकुर, धनुषा जनकपुर–२३ बिन्दीका ३४ वर्षीय अविद नदाफ र धनुषा धनुषाधाम–३ का २८ वर्षीय पंकज शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि नक्कली सवारी धनी किताब बनाई बिक्री गर्नेहरुमाथि किर्ते तथा लिखित बदर भन्सार तर्फको कानुनी कारबाही अगाडि बढाइएको छ । अनुसन्धानको क्रममा पक्राउ परेका गाडीहरूको सवारी धनी तथा सवारी दर्ता किताब सहितको विवरणको लागि यातायात व्यवस्था कार्यालय जनकपुर तथा नारायणी वीरगन्ज समेतमा लेखापढी भएकोमा यातायात व्यवस्था कार्यालय जनकपुरमा कुनै पनि रेकर्ड फेला नपरेको प्रहरीले जनाएको छ ।

Reporter