काठमाडौँमा एआइ फिचरका सीसीटिभी जडान

काठमाडौँमा एआइ फिचरका सीसीटिभी जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् ।

महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो । यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुृन् ।

यससँगै सहकार्यबाट सहरमा राखिएका सीसीटिभीको संख्या ३३५ पुगेको छ । २०७५ फागुन १५ गते सम्झौता गरेर आ. व. २०७६/०७७ मा २५ वटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० वटा फिक्स्ड गरेर १६५ वटा र २०८० बैशाख ७ गते सम्झौता गरेर चालुृ आर्थिक बर्ष (२०८०/०८१) मा ५ वटा पीटीजेड, १४५ वटा फिक्स्ड, १० वटा एएनपीआर र १० वटा एफआरएस गरी १७० वटा क्यामरा जडान गरिएका हुन् । अघिल्लो सम्झौताबमोजिम महानगरपालिकाले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको थियो । चालु आर्थिक बर्षमा ६ करोड रुपैयाँ प्रदान गरिनेछ । जसमध्ये पहिलो किस्तामा ३ करोड रुपैयाँ दिइसकिएको छ ।

रात्रीकालीन दृश्य समेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामरा जडान गर्नेे, रात्रीकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गर्ने आपसी कामका सूची हुन् ।

सहकार्यमा भएको कामको नतिजा निरीक्षण गर्न महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेकी थिइन् । सूचना प्रविधि विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित निरीक्षणमा गएकी उपप्रमुखले, सीसीटिभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरेकी थिइन् ।

‘नेपाल प्रहरीसँग भएको विशेषज्ञताबाट सीसीटिभी क्यामरा जडान सम्बन्धी काम संस्थागत हुन थालेको छ । शान्ति सुरक्षा र सहरी व्यवस्थापनमा तथ्य तथा तथ्याङ्क प्राप्त हुन थालेका छन् । विगत बर्षहरुमा गरिएका अभ्यासहरुबाट नयाँ कामका लागि केही सिकाइ पनि भएको छ ।’ निरीक्षणपछि डंगोलले भनिन्, ‘वडाको बजेटबाट पनि सीसीटिभी जडान भएको छ । ती क्यामरालाई प्रहरीको निगरानी कक्षसँग जोड्ने विषयमा सम्भावना अध्ययन गर्नुपर्छ । सम्भव भए जोड्नु पर्छ ।’

व्यक्तिगत तथा संस्थाहरुले राख्ने सीसीटिभी सञ्चालन व्यवस्थापनलाई व्यक्तिको गोपनीयता तथा सुरक्षाका कोणबाट हेर्नु पर्ने अवस्था छ । यसको मापदण्ड पालना तथा सीसीटिभीको उपयोगका बारेमा व्यक्ति, समुदाय तथा सरोकारवालाका बिचमा सचेतना पनि बढाउनु पर्नेछ, उपप्रमुखको भनाइ थियो ।

Reporter