६ जना युवकको ज्यान जानेगरी भएको रुकुम घटना : जातीय विभेदजन्य आपराधिक काम

६ जना युवकको ज्यान जानेगरी भएको रुकुम घटना : जातीय विभेदजन्य आपराधिक काम

काठमाडौँ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ ।

२०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।

जिल्ला अदालतले वस्तुतः जातीय विभेदजन्य काम आपराधिक भएको व्याख्या गरेको छ । ‘जातीय विभेदजन्य काम व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुऱ्याउने आपराधिक कार्य हो,’ अदालतले भनेको छ । अदालतले जातीय भेदभावको कुरा सबै मानवबराबर मर्यादा र अधिकारसहित स्वतन्त्र रूपमा जन्मेका हुन्छन् भन्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत हुने ठहर पनि गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

nepal one