मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन / अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।

अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो ।

सो क्रममा रु १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उनले बताए ।

प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उनले जानकारी दिए । उनले भने, “हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ ।” बाँकी रहेका निवेदनमा समेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उनले बताए ।

Reporter