सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, सोडारीलाई समर्थन नगर्ने एमालेको संकेत

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, सोडारीलाई समर्थन नगर्ने एमालेको संकेत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ ५ बजे सकिँदैछ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ । तर नेकपा एमाले भने अझै निर्णयमा पुग्न सकेको छैन। नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ । एमालेको मनोदशा बुझेरै एकीकृत समाजवादीले बुधबार केन्द्रीय सचिवालय बैठकबाटै सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । तर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने आफूहरू पर्ख हेरको अवस्थामा रहेको बताए ।

गत आइतबार संविधानको धारा १६८ (२) अनुसार नै नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए । कैलासले नेकपा (एमाले) का १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहने गरी दाबी पेश गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसदको समर्थन रहने गरी दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन् ।

Reporter