इजरायली सैन्य गुप्तचर निर्देशनालयका प्रमुखद्वारा राजीनामा

इजरायली सैन्य गुप्तचर निर्देशनालयका प्रमुखद्वारा राजीनामा

बीबीसी । इजरायलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन् । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्नेछन् ।

एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका छन् । अक्टोबर ७ का दिन सयौँ लडाकुहरू गाजास्थित सीमाको तारबार नाघेर इजरेलभित्र छिरेको भन्ने सूचनालाई इजरायली सैन्य र गुप्तचर अधिकारीहरूले बेवास्ता गरेका थिए ।

इजरायलको इतिहासमा भएको उक्त भयानक आक्रमणमा केही विदेशीसहित झन्डै १२ सय जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये केही नेपाली विद्यार्थी पनि थिए ।

आक्रमणपछि हमासका लडाकुहरूले आफूसँगै २५३ जनालाई बन्धक बनाएर लगेका थिए । उक्त अप्रत्याशित घटनापछि इजरेलले हमासलाई सखाप पार्ने उद्घोष गर्दै गाजामा सैन्य कारबाही थालेको थियो । इजरायली आक्रमणमा परी गाजामा अहिलेसम्म ३४ हजार भन्दा बढी मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Reporter