समाचार

कर्ण थापाको बोलीको विषयमा सर्वत्र विरोध

NepalOne
१ जेठ २०८२ २३:१६

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेको एक भाषणको सर्वत्र विरोध भइरहेको छ । गत आइतबार बाजुरास्थित एक सार्वजनिक कार्यक्रममा भाषण गरेका थापाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्टार्टअप कार्यक्रममा घुस खाएको आशङ्का व्यक्त गरेका थिए । उक्त भाषणको विषयलाई लिएर थापा विरुद्ध सामाजिक सञ्जाल ओर्लिएको छ ।

थापाको भाषण बारे सुदूरपश्चिमका अधिकांश एमालेका नेता कार्यकर्ताले टिप्पणी गरेका छन् । थापाको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै सामाजिक सञ्जालमा विरोध भएको हो ।

नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य समेत रहेका मन्त्री भण्डारीको गल्ती भएमा प्रमाण सार्वजनिक गर्न र नभए आफ्नो बोलीलाई ठेगानमा राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाई छ ।

थापाको भाषणका विषयमा अधिकांश नेता कार्यकर्ताले स्ट्याटस लेखेर विरोध गरेका छन् भने, कतिपय नेताहरू थापाले गल्ती गरेको बताइ रहेकाछन् । थापाले आफ्नो भाषणमा प्रमाणविहीन कुरा गरेका छन् । उनले मन्त्री भण्डारीले स्टार्टअप कर्जा पाउने व्यक्तिबाट रकम असुलेको भन्ने तथ्यहीन आरोप लगाएका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२मा स्टार्टअप सहुलियत कर्जा कार्यक्रम मार्फत सहुलियत ब्याजदर को ऋण प्रवाह गर्ने कार्यक्रम ल्याएको छ । १ अर्ब बजेटको उक्त कार्यक्रममा ६सय ६१ जनाले व्यवसाय गर्नका लागि कर्जा पाउने भकाए छन् ।

उक्त कर्जाबाट समेत रकम असुलेको हुनसक्ने हास्यास्पद आशङ्का व्यक्त गरेपछि थापाको चौतर्फी विरोध भएको हो । जबकि उक्त रकम अझै व्यवसायीको हातमा पर्न सकेको छैन ।

बाजुरा जिल्लाबाट २०७९को निर्वाचनमा पराजित भएका थापालाई आफू चुनाव जित्न नसक्ने र अर्काले चुनाव जितेर मन्त्री भएको देख्न नसक्ने प्रवृत्ति हटाउन अधिकांशले सुझाव दिएका छन् । थापाले समेत २ वटा फर्म रकमको प्रस्ताव गरेकोमा उक्त फर्महरूमा रकम नपरेका कारण आक्रोश पोखेको आरोप उनीमाथि लागेको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने विषयमा भण्डारीले नेतृत्व गरेको मन्त्रालय र मन्त्री भण्डारीको कुनै संलग्नता नरहेको मन्त्रालयको भनाई छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान द्वारा सञ्चालन भएको उक्त कार्यक्रममा प्रतिष्ठान, विज्ञ सदस्य लगायतको समितिले कर्जा पाउने व्यक्तिको छनोट गरेका हुन् ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१मा व्यवस्था भए अनुसार बैङ्कको प्रतिनिधि, उद्यमशीलता क्षेत्रमा काम गरेको विज्ञ सदस्य, स्टार्टअपमा काम गरेको प्रतिनिधि, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्रतिनिधि रहेको मूल्याङ्कन समितिले आवश्यक प्रक्रिया मार्फत उद्यमीहरूको छनोट गरी कर्जा वितरणको निर्णय गरेको हो ।

५ जनाको उक्त मूल्याङ्कन समितिका अनुसार व्यवसायको विवरण, पेस गरिएको प्रस्ताव, कम्तीमा १ मिनेटको भिडियो, छनोटका बेला गरिएका प्रश्नोत्तरको आधारमा उद्यमीको छनोट गरिएको हो ।

छनोटका क्रममा कुनै प्रकारको अनियमितता नभएको मूल्याङ्कन समितिको भनाई छ । मूल्याङ्कनका सबै प्रक्रियाहरू पुरा गर्दा ५० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिहरूलाई छनोट गरिएको र फर्म छनोट नहुनुको कारण देखाउन सकिने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया