फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी

धरान (सुनसरी), ३ जेठः नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले नेपाली समाजमा आशा, उत्साह र एकताको सन्देश फैलाउँदै राष्ट्रिय विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउनुभएको छ ।
आज यहाँ पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले धरान फुटबलको सहरका रूपमा पनि परिचित रहेको भन्दै हाल यहाँ विभिन्न तहका फुटबल प्रतियोगिताहरू सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो । यहाँको सक्रियता र फुटबलप्रतिको जनस्तरको आकर्षणलाई मध्यनजर गर्दै सरकारले धरानमा सञ्चालन भइरहेको फुटबल एकेडेमी तथा आगामी लिगहरूमा थप बजेट वृद्धि गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलकुदमन्त्री चौधरीले भन्नुभयो, “धरानमा भइरहेका फुटबल गतिविधि देशका लागि अनुकरणीय छन् । जहाँ बुढासुब्बा गोल्डकपदेखि विभिन्न फुटबल लिग सञ्चालन हुने गरेका छन् । विगतदेखि नै हामीले अपेक्षा गरिएको भन्दा बढी बजेट विनियोजन गरेर सहयोग गरिरहेका छौँ । आगामी वर्षहरूमा यसलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग गर्नेछौँ ।”
मन्त्री चौधरीले एकेडेमीको पूर्वाधार, तालिम तथा प्रतियोगिता सञ्चालनका लागि मात्र बजेट नभएर प्राविधिक सहयोग र आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारअन्तर्गत रहेका १० वटा रङ्गशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।