समाचार

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र सम्पन्न

NepalOne
३ जेठ २०८२ २२:४६

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । ती सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।

संवादको सुरु भएको दिन यही जेठ २ गते उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्ने महत्वाकाङ्क्षाको आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहलका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

संवादको दोस्रो दिन शनिबार स्वच्छ ऊर्जाको उपयोग र भविष्य, हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण, हिमाली जोखिम मूल्याङ्कन र अनुगमन, हिमालमा हानि–नोक्सनीको सम्बोधन, दिगो सहरहरू र समुदाय, समावेशी भविष्य निर्माणः लैङ्गिक समानता र अन्तरपुस्ता समता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिको संयोजन, हिमाली अर्थतन्त्रको दिगोपना विषयका आठ समानान्तर सत्र सम्पन्न भएका छन् ।

सबै सत्रहरूमा विभिन्न मुलुकका राजनीतिज्ञ, नीतिनिर्माता, विद्वान, विशेषज्ञ र अनुसन्धानकर्ताहरूद्वारा गहन छलफल, विचार आदानप्रदान र विश्लेषण गरिएको थियो । प्रत्येक सत्र डेढ घण्टाको रहेको र त्यसमा एक मध्यस्थकर्ता, एक मुख्य वक्ता र चार प्यानल सदस्यहरू रहेका छन् ।

समानान्तर सत्रहरूका अधिकांश वक्ताले नेपाल जस्ता जलवायु परिवर्तनमा नगण्य योगदान भएर सबैभन्दा बढी जोखिममा रहेका मुलुकका जलवायुजन्य समस्या समाधानमा सामूहिक सहकार्यको आवश्यकता औँल्याएका थिए । साथै उहाँहरूले जोखिमा रहेका त्यस्ता मुलुकमा अनुकूलनका कार्यक्रममाथि जोड दिँदै हानि–नोक्नीलगायत जलवायु वित्तको पहुँच सरलीकरण बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

हिन्दू कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न

यसबाहेक शनिबार हिन्दू कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिइएको छ ।

संवादका क्रममा विश्वव्यापी र क्षेत्रीय साझेदारीअन्तर्गत बहु–सरोकारवाला गोलमेच बैठकसमेत सम्पन्न भएको थियो । यस सत्रमा स्वदेशी तथा विदेशी विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूले जलवायुका असर र हिमाली क्षेत्रमा देखिएका जलवायुसम्बन्धी चुनौतीहरूको सम्बोधन गर्न क्षेत्रीय र अन्तरराष्ट्रिय सहयोगका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसअघि शुक्रबार सगरमाथा संवादको उद्घाटन सत्र भव्य समारोहबीच सम्पन्न भएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । त्यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । उद्घाटन समारोहमा कोप–२९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजानका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभ, भारतका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव, जनवादी गणतन्त्र चीनको जनकांग्रेसका स्थायी समितिका उपाध्यक्ष जिओ जीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै र कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण गरेका थिए । त्यस्तै संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।

खुला सत्रमा १९ देशका प्रतिनिधिको सम्बोधन

उद्घाटनपछि शुक्रबार भएको पूर्णसत्रमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय मन्तव्य दिएका थिए । विभिन्न १९ प्रतिनिधिमण्डल (१३ राष्ट्रिय र क्षेत्रीय तथा अन्तरराष्ट्रिय सङ्गठनहरूका तर्फबाट छ जना)ले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विभिन्न पक्षहरूलाई उजागर गर्दै आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए ।

आफ्ना वक्तव्यहरू दिने राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बङ्गलादेश, भूटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका थिए । अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, सार्क, बिम्स्टेक, इसिमोड रहेका थिए ।

संवादमा विभिन्न साइडलाइन बैठक र अन्य पूरक कार्यक्रमहरूसमेत सम्पन्न भएका छन् । संवादमा सहभागी उच्चस्तरीय विदेशी विशिष्ट व्यक्तिहरूले प्रधानमन्त्रीसँग भेटघाट र नेपाली समकक्षीहरूसँग द्विपक्षीय बैठकहरू गरेका थिए ।

आइतबार बिहान उच्चस्तरीय विशिष्ट व्यक्तिहरूका लागि सगरमाथा क्षेत्रको पर्वतीय उडान गरिनेछ । वायु प्रदूषणसम्बन्धी उच्चस्तरीय कार्यक्रम र जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रम पछि काठमाडौँ घोषणा हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद औपचारिक रुपमा सम्पन्न हुनेछ ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चका रूपमा आफूलाई प्रमाणित गर्ने अपेक्षा गरिएको छ ।

सरकारले पहिलोपटक आयोजना गरेको पहिलो संस्करण ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सम्मेलनमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपालीको सहभागिता छ । विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ संवाद आयोजना गरिएको हो ।

संवादमा उठाइए हिमालका विषय

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागिसमेत उपयोगी सिद्ध भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा महत्त्वका साथ हिमालका विषय उठाएको छ ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाका नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।


प्रतिक्रिया